निर्वाचन आचारसंहिता आज मध्यरातदेखि

 


 निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । राजनीतिक दल र अन्य सरोकारवालालाई पालना गर्ने लिखित प्रतिबद्धता गराएपछि आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याउन लागेको हो । स्रोतका अनुसार आयोगले शुक्रबार निजी क्षेत्रलाई प्रतिबद्धता गराएपछि पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू गर्ने तयारी गरेको छ । ‘सरोकारवाला सबैले प्रतिबद्धता जनाएपछि शुक्रबार मध्यरातिबाट आचारसंहिता लागू गर्न लागेका छौं,’ स्रोतले भन्यो । स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गर्न लागेको हो । आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाउँछ ।आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत पाइँदैन । त्यस्तै निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइँदैन । आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन । उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३/३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ । आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान पनि छ । जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ । उम्मेदवारले ‘ए ४’ आकारको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न मिल्छ । निर्वाचन प्रचारप्रसारको काम पनि बिहान ८ देखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ । भित्तेलेखन गर्न, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सवारीसाधन प्रयोग गर्नसमेत आचारसंहिताले रोक लगाएको छ । प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोगमा भने रोक लगाइएको छैन । तर प्रचारप्रसारका लागि दलका दुई जना मुख्य प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने संहितामा उल्लेख छ । यसैबीच, निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई खटाएको छ । निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । 

Comments

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !