नेपाली कांग्रेसको झण्डाको इतिहास History of Nepali Congress Flag

 नेपाली कांग्रेसको झण्डाको इतिहास

हालको झण्डा
पुरानो झण्डा

तल माथि क्रान्तीको प्रतिक रातो रङ र बिचमा शान्तीको प्रतिक सेतो रङमा फेरी क्रान्तीकारी चार तारा पनि राखिएको छ । चार तारा राख्नुको कारण नेपालमा कांग्रेस राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका पक्षमा सधै उभिनेछ भन्नु थियो । तर वास्तवमा भन्ने नै हो भने यो झण्डा नेपाली कांग्रेसको थिएन । राणाशासन बिरुद्ध क्रान्तीको घोषणा सहित राणाशासनकालमा जुद्धशम्शेरले भीमशम्शेरका तामाङ तिरका सन्तानलाई सि क्लासमा बिभाजन गराइ रोलक्रमबाट निष्काशित गराइएका सुवर्णशम्शेर र महावीर शम्शेरको सक्रियतामा स्थापना गरिएको नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा थियो । 


नेपाली राष्ट्रिय कांग्रेसको जन्म भने धेरै अगाडि नै भइसकेको थियो । बि.सं. २००३ कार्तिक १५ गते गठित अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नै पछि माघ १२ र १३ गते कलकत्तामा भएको प्रथम महाधिवेशनले बिधिवत रुपमा नेपाली राष्ट्रिय कांग्रेस नामाकरण गरि गोपाल प्रसाद भट्टराई, देवब्रत परियार तथा डि. एन. प्रधानलाई झण्डा निर्माणको जिम्मा दिइएको थियो । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको गठन भएको केही दिन पछि बनारसमा तैयार गरिएको झण्डामा गाढा रङमा तीनवटा सेतो तारा अंकित थियो । तर यस झण्डालाई स्विकार गरिएन । जसले गर्दा नयाँ झण्डाको प्रारुप तैयार भयो । यस आयताकार झण्डामा तीन बराबर भाग विभाजन गरिएको थियो । जसमा हिमाली क्षेत्रको प्रतिकात्मक रुपमा सबैभन्दा माथिल्लो भागलाई सेतो रङ बनाइएको थियो । बिचको भाग डाँडाकाँडा सहितको पहाडी भाग भएको हुँदा निलो रङ बनाइएको थियो । भने तराइको उर्वर भूमीको प्रतिकात्मक रुपमा तलको भाग पहेंलो बनाइएको थियो । साथै नयाँ युगको आगमनको रुपमा हिमाली क्षेत्रमा उदाउँदो सूर्यको रुपमा माथिल्लो सेतो भागको बाँया तर्फ सूर्य अंकित गरिएको थियो । 

यसरी उदाउँदो सूर्य भएको झण्डाको बिशेष गीत पनि त्यो बेला बनाइएको थियो -

उच्चा उच्चा हाम्रो झण्डा उड्दै फरफरी

शौच्य, मुक्ति, प्रचुर भाव छर्छ छरछरी

हेर झुल्क्यो दिन उम्ल्यो राष्ट्र मन

जागृतिको सूर्य आइ छर्छ नव किरण

हिउँको त्यो प्रदेश, पर्वत यो देश,

धान्य स्वर्ण रङ्ग फेरि दिव्य कस्तो वेश

जय हे शान्त-पूत सामान्य भाव दूत

हे त्रिपट्ट, सूर्ययुक्त, क्रान्ति रथका सूत


यता श्री ३ पद्मशम्शेर भारत पलायन भए पछि मोहन शम्शेर सर्वेसर्वा भए । उनले तत्कालै २००४ चैत ३१ गते नेपाली राष्ट्रिय कांग्रेस माथि प्रतिवन्ध लगाएर अवैध घोषित गरे । नेपाली राष्ट्रिय कांग्रेस नेपालमा अवैध घोषित भए पनि भारतमा भने बैठकहरु भइ नै रहे ।

बि.सं. २००५ साल साउन १ गते केही जुझारु तर राणाशासनका बिरोधीहरुको सानो समुह कलकत्तामा रहेको टाइगर सिनेमा हलमा जम्मा भएका थिए । तिनमा प्रमुख थिए - सुवर्णशम्शेर, महावीरशम्शेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्र बिक्रम शाह तथा राजेश्वरीप्रसाद उपाध्याय । यो समुहको मुख्य उद्धेश्य नेपाली राष्ट्रिय कांग्रेससंग एकताबद्ध भइ अन्य राणाशासन बिरुद्ध लाग्नेहरुलाई पनि एकत्रित गर्ने थियो । तर २००५ साल कार्तिक २ गते अर्थात कोजाग्रत पूर्णिमाको दिन बिधिवत रुपमा पार्टीको घोषणा भयो र नाम राखियो - नेपाली प्रजातन्त्र कांग्रेस । बि.सं. २००५ पौष १५ गते यसको प्रथम अधिवेशन कलकत्तामा रहेको टाइगर सिनेमा हलमा नै सम्पन्न भयो । टाइगर सिनेमा हल वास्तवमा महावीर शम्शेरको नीजि सिनेमा हल थियो । 

यस पार्टीमा अगुवा रहेका सुवर्णशम्शेर श्री ३ भीमशम्शेरका तामाङ्नी तिरका छोरा हिरण्यशम्शेरका छोरा थिए । अर्थात भीमका नाति थिए सुवर्णशम्शेर । उता महावीर शम्शेर भने भीमशम्शेरकै गुञ्जन महारानी तिरका छोरा प्रकाश शम्शेरका छोरा थिए । यसर्थ जुद्धशम्शेरबाट पिडित दुबै भीमशम्शेरका नाति थिए । २००५ पौष १५ को महाधिवेशनले महेन्द्र बिक्रम शाहलाई सभापति, सूर्यप्रसाद उपाध्यायलाई महामन्त्री, राजेश्वरीप्रसाद उपाध्यायलाई कोषाध्यक्ष र प्रेमबहादुर कंसाकारलाई सहायक महामन्त्री चयन गरेको थियो । तथा सदस्यहरुमा सुवर्णशम्शेर, महावीरशम्शेर, सुन्दरराज चालिसे, लक्ष्मीदत्त उपाध्याय, भीमभक्तमानसिंह बस्नेत, आरबी गहतराज, श्रीमती माया शाह तथा बाबुलाल मोक्तान चयन भएको थियो ।

सुवर्ण शम्शेर सहितको नेपाल प्रजातन्त्र कांग्रेसले पनि आफ्नो छुट्टै झण्डा बनायो । जुन आयताकारमा बिभाजित तीन बराबर भागमा माथिल्लो र तल्लोमा रातो रङ राखिएको थियो भने बिचको सेतो भागको बिचमा चार तारा बनाइएको थियो । यो चार तारा सम्बन्धमा दुइ किसिमको अभिमत थियो । पहिलो - चार तारा चार शहिदहरुको प्रतिक मानिएको मान्यता रहको थियो भने अर्को - चार तारा सुवर्ण कांग्रेसका चार हस्ती सुवर्ण, महावीर, महेन्द्र बिक्रम शाह तथा सूर्यप्रसाद उपाध्याय हुन भन्ने पनि तर्क दिनेहरु थिए । 


बि.सं. २००६ चैत्र २७ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त सम्मेलन कलकत्तामा शुरु भयो । यो पटक पनि सम्मेलन महावीर शम्शेरको टाइगर सिनेमा हलमा नै भयो । दुइ कांग्रेसका कार्यकर्ताहरुको छलफलले पार्टी सभापति र झण्डा नेपाली राष्ट्रिय कांग्रेसको रहने तथा महामन्त्री तथा पार्टीको मुखपत्र भने नेपाल प्रजातन्त्र कांग्रेसको रहने सहमति भएको थियो । यहिँ अनुसार सभापति मातृका प्रसाद कोइराला बने भने महामन्त्री महेन्द्र बिक्रम शाह भए । तर झण्डा भने के कति कारणले हो नेपाल प्रजातन्त्र कांग्रेसको चयन भयो । बिपीले नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा नै नेपाली कांग्रेसको झण्डा रहने प्रस्ताव राखे । अचानक आएको यो प्रस्तावले नेपाली राष्ट्रिय कांग्रेसका तर्फबाट सहभागीहरुमा हल्लाखल्ला मच्चियो  । आखिर बिपीले किन सुवर्ण शम्शेरको कांग्रेसको झण्डालाई नै स्विकार गर्ने प्रस्ताव ल्याए भन्ने प्रश्न सबैले राखे । यसको जवाफमा बिपीले जे जवाफ दिए त्यो हास्यास्पद थियो । सुवर्ण शम्शेरले एकता प्रयास अगाडि नै लाखौ रुपैया खर्चेर हजारौ चार तारे झण्डा बनाइसकेको हुँदा सुवर्ण शम्शेरको नेपाल प्रजातन्त्र कांग्रेसको झण्डालाई नै नेपाली राष्ट्रिय कांग्रेसले स्विकार्न बाध्य भएको हो ।


यसरी २००७ साल पछि नेपाली कांग्रेसको झण्डा चारतारे झण्डा रहन पुग्यो । माथिल्लो रातो रङ्गले राजनैतिक क्रान्ति, बिचको सेतो भागले शान्ति र निर्माण तथा अन्तको रातो रङ्गले सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्ति जनाइएको थियो । साथै पहिले चार शहिदको प्रतिक मानिएको चार तारा भने पछि वाक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सुरक्षा स्वतन्त्रता रुपमा रहेको भनियो । यहिँ झण्डा नै अहिले सम्म नेपाली कांग्रेसको रहँदै आएको छ । चार ताराको ठाउँमा रुख राख्ने चर्चा पनि बेला बेलामा चलेको थियो । तर यो भने सर्वसम्मत हुन सकेन ।

यसरी २००७ साल पछि नेपाली कांग्रेसको झण्डा चारतारे झण्डा रहन पुग्यो । माथिल्लो रातो रङ्गले राजनैतिक क्रान्ति, बिचको सेतो भागले शान्ति र निर्माण तथा अन्तको रातो रङ्गले सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्ति जनाइएको थियो । साथै पहिले चार शहिदको प्रतिक मानिएको चार तारा भने पछि वाक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सुरक्षा स्वतन्त्रता रुपमा रहेको भनियो । यहिँ झण्डा नै अहिले सम्म नेपाली कांग्रेसको रहँदै आएको छ । चार ताराको ठाउँमा रुख राख्ने चर्चा पनि बेला बेलामा चलेको थियो । तर यो भने सर्वसम्मत हुन सकेन ।







Comments

Post a Comment

Popular posts from this blog

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

बुढानीलकण्ठ नगरपालिकमा कृषि सामग्री खरिद तथा अनुदानको प्रगति विवरण छैन, गम्भीर भ्रष्टाचारको आशंका !